प्रधानमन्त्री शाहको भारत भ्रमणबारे भारतको स्पष्टोक्ति : निमन्त्रणा दिइसकेका छौं

नयाँ दिल्ली । भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि दिइएको निमन्त्रणा यथावत रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले दुवै देशको अनुकूलता मिलाएर भ्रमणको मिति तय गरिने स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेको जानकारी दिए। उनका अनुसार उक्त भेटमा नेपाल–भारत सम्बन्ध तथा साझा चासोका विभिन्न विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा प्रवक्ता जैसवालले भारतले पहिले नै औपचारिक निमन्त्रणा प्रदान गरिसकेको बताए। उनले प्रधानमन्त्री शाहले पदभार सम्हालेको समयमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएको उल्लेख गर्दै भ्रमणको मिति दुवै पक्षको सुविधा अनुसार तय गरिने बताए।
उनले भ्रमणसम्बन्धी थप प्रगति भएमा त्यसबारे सार्वजनिक जानकारी गराइने पनि बताए।

पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सन् १८१६ को सुगौली सन्धिको मूल दस्तावेज फेला नपरेको भनी दिएको अभिव्यक्तिबारे पनि प्रश्न उठाइएको थियो। त्यसबारे प्रवक्ता जैसवालले प्रत्यक्ष टिप्पणी नगरी नेपाल–भारत सम्बन्ध समग्रमा सकारात्मक रहेको बताए।

उनले दुई देशबीच केही विषयमा मतभिन्नता हुन सक्ने भए पनि ती विषय समाधानका लागि संवाद र कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै वार्तामार्फत सबै विषयमा छलफल गर्न सकिने धारणा व्यक्त गरे।

Share:

सम्बन्धित समाचारहरु