चितवन बन्दको कार्यक्रम फिर्ता, सकारात्मक पहलको स्वागत

भरतपुर, १५ साउन ।  विश्व हिन्दु महासंघ चितवनले शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन तथा गृहमन्त्री र पीडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश प्रवाह गरेको निष्कर्षसहित बन्द फिर्ता लिइएको जनाएको छ।

महासंघका चितवन अध्यक्ष प्रेम गैरेका अनुसार सरकारले पछिल्लो समय देखाएको सकारात्मक पहललाई स्वागत गर्दै बन्दको कार्यक्रम स्थगित गरिएको हो। उनले स्थानीय प्रशासन, राजनीतिक दल तथा विभिन्न व्यावसायिक संघ–संस्थाबाट प्राप्त आग्रहलाई समेत ध्यानमा राख्दै बन्द फिर्ता लिइएको स्पष्ट पारे।

सुनसरी घटनापछि उत्पन्न धार्मिक विवादका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव र विरोधका कार्यक्रम भइरहेका बेला चितवनमा समेत बन्दको घोषणा गरिएको थियो। तर पछिल्ला संवाद र सहमतिका प्रयासले परिस्थिति सहज बन्दै गएको भन्दै महासंघले बन्दको कार्यक्रम रद्द गरेको जनाएको छ।

 

–0—

Share:

सम्बन्धित समाचारहरु