चितवन । हरित वातावरण संरक्षण, खाद्य सुरक्षा प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ र समृद्ध वातावरण हस्तान्तरण गर्ने उद्देश्यका साथ कालिका नगरपालिका–७ बुङखरे टोलमा तीन सयभन्दा बढी फलफूलका बिरुवा रोपिएको छ।
मिति २०८३ साल साउन १२ गते कालिका नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र युवा सञ्जाल कालिका को संयुक्त सहकार्यमा आयोजित वृक्षरोपण कार्यक्रममा आँप, लिच्ची लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका हुन्। स्थानीय बासिन्दाको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणसँगै पोषणयुक्त खाद्यान्न उत्पादनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको शुभारम्भ कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, वन तथा वातावरण समितिका संयोजक एवं वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ तथा वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान ले संयुक्त रूपमा आँप र लिच्चीका बिरुवा रोपेर गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख रेग्मीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले फलफूलका बिरुवाले वातावरणलाई हराभरा बनाउनुका साथै स्थानीय स्तरमै पोषणयुक्त खाद्यान्न उत्पादन, आयआर्जन र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले नगरक्षेत्रभित्र रहेका भूमिहीन सुकुम्बासी समुदायलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै केही महिनाभित्रै लालपुर्जा वितरण गरिने स्पष्ट पार्नुभयो।
कार्यक्रमको उद्देश्य र अवधारणाबारे लुमन्ती आवासका लागि सहयोग समूह का समुदाय परिचालक विकास गुरुङ ले जानकारी गराउँदै हरित वातावरण, खाद्य सुरक्षा, सामुदायिक सहभागिता तथा दिगो विकासलाई जोड्ने उद्देश्यका साथ फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक स्थल, खुला क्षेत्र तथा सामुदायिक जग्गामा फलफूलका बिरुवा रोपेर भविष्यमा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, युवा सञ्जालका प्रतिनिधि, महिला समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बिरुवा रोप्नु मात्र नभई त्यसको नियमित संरक्षण, गोडमेल र हेरचाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
नविकरण महिला समूह की अध्यक्ष सीता तामाङ ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बुङखरे टोल विकास संस्था का अध्यक्ष गोखा तामाङ को अध्यक्षता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणलाई सामुदायिक अभियानका रूपमा निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले गाउँको सौन्दर्य अभिवृद्धि गर्नुका साथै आगामी वर्षहरूमा फलफूल उत्पादनमार्फत खाद्य सुरक्षामा टेवा पुग्ने, वातावरणीय सन्तुलन कायम रहने तथा भावी पुस्ताका लागि हराभरा र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



