सन्तकुमार चौधरी –
माडी, ८ साउन । चितवनमा जंगली हात्तीको आतंक बढ्दै जाँदा माडीमा एउटा घटना गुपचुमा राखिएको छ । माडी नगरपालिका–९, जेठी बगहीमा विहीवार बिहान जंगली हात्ती बस्तीमा प्रवेश गरी एक वृद्धको भान्साघरमा क्षति पुर्याएको घटनालाई गुपचुप राखिएको हो ।
स्थानीयका अनुसार शारीरिक रूपमा अस्वस्थ रहेका करिब ६० वर्षीय ठागु बुबा घरमा एक्लै सुतिरहेको समयमा बिहान करिब ४–५ बजेतिर जंगलबाट आएको हात्तीले घर नजिकै रहेको भान्साघरको बार भत्काएको हो। हात्तीले अन्नपातको खोजीमा भान्साघरमा क्षति पुर्याएको स्थानीयको अनुमान छ।
स्थानीय डिल्लीराज तामाङका अनुसार सोही हात्ती मध्यराति करिब २ बजेतिर पनि उक्त क्षेत्रमा देखिएको थियो। “हात्ती हाम्रो घर नजिकैसम्म आएको थियो। हामी श्रीमती र भाइसँग घरभित्रै थियौं। हात्ती आएको थाहा पाएपछि चुपचाप बस्यौं। झण्डै आधा घण्टासम्म घर वरिपरि घुम्यो तर कुनै क्षति गरेन,” उनले भने।
हात्ती फर्किएपछि गाउँमा हात्ती आएको खबर फैलिएको थियो। त्यसपछि गाउँलेहरू जम्मा भएका थिए। तर बिहान पुनः सोही क्षेत्रमा हात्ती देखापरेर ठागु बुबाको भान्साघरमा क्षति पुर्याएको स्थानीयको भनाइ छ। गाउँलेहरूले होहल्ला गरेपछि मात्रै हात्ती बस्ती छाडेर जंगलतर्फ लागेको बताइएको छ।
घटनामा मानवीय क्षति भने भएको छैन। बिहान बगई पोष्टबाट टोलीहरु घटनास्थल पुगेको थियो। उनीहरुले नै ढलेका बारहरू हटाउने काम गरेर फर्किएको स्थानीयले जानकारी दिए ।

घटना किन गुपचुप रह्यो ?
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जंगली हात्ती ‘धुर्बे’को आतंक बढिरहेका बेला भएको यो घटनाबारे निकुञ्जले कुनै सार्वजनिक जानकारी दिएको छैन। धुर्बे हात्तीको घाँटीमा रेडियो कलर जडान गरिएकाले हात्तीको अवस्थिति सम्बन्धी सूचना प्रत्येक १० मिनेटमा निकुञ्जमा पुग्ने व्यवस्था छ।
निकुञ्जले सामान्यतया रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा स्थानीय बासिन्दालाई फोनमार्फत सतर्क गराउने, सामाजिक सञ्जालमा सूचना प्रकाशन गर्ने तथा जोखिम क्षेत्रका समुदायलाई सचेत गराउने गर्दै आएको छ। तर माडी–९ मा भएको यो घटनामा त्यस्तो पूर्वसूचना किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठेको छ।
अर्कोतर्फ, बस्तीमा प्रवेश गर्ने हात्ती रेडियो कलर लगाइएको धुर्बे नै थियो वा अन्य जंगली हात्ती पनि मानव बस्तीको नजिक आउन थालेका हुन् भन्ने विषय अझै स्पष्ट भएको छैन।
यसअघि बिहीबार साँझ चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–३, बोटे सिमरा आसपास धुर्बे हात्ती देखिएकाले स्थानीयलाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसको केही घण्टामै वडा नम्बर ९ को जेठी बगहीमा हात्ती प्रवेश गरी संरचनामा क्षति पुर्याएको घटना बाहिरिएपछि निकुञ्जको निगरानी प्रणाली र सूचना प्रवाहको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीयवासीले जंगली हात्तीको बढ्दो आवागमनका कारण त्रास बढेको भन्दै निकुञ्ज र सम्बन्धित निकायसँग थप प्रभावकारी पूर्वसूचना प्रणाली तथा सुरक्षा उपायको माग गरेका छन्।

–00—

