चेपाङ समुदायलाई तरकारी उत्पादन सामग्री वितरण, आयआर्जन र जीविकोपार्जन सुधारमा जोड

चितवन, असार २३ । कालिका नगरपालिकाले गरिबी न्यूनीकरण तथा चेपाङ समुदायको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले वडा नं. ९ र १० का चेपाङ समुदायलाई तरकारी उत्पादनका लागि आवश्यक कृषि सामग्री वितरण गरेको छ।

नगरपालिकाले ‘गरिबी निवारणका लागि चेपाङ, दलित तथा वञ्चितीकरणमा परेका समुदायको आयआर्जन तथा जीविकोपार्जन सुधार कार्यक्रम’ अन्तर्गत एक सातासम्म तरकारी उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेपछि सहभागी कृषकलाई उत्पादनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

तालिम समापन कार्यक्रममा बोल्दै कालिका नगरपालिकाकी उपप्रमुख विमला तमाङले कृषि क्षेत्रलाई सुदृढ बनाउन नसकेसम्म समृद्ध नगर निर्माण सम्भव नहुने बताउँदै नगरपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

उहाँले स्थानीय भूगोल, माटो र सम्भावनाका आधारमा विभिन्न वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो। वडा नं. १ लाई तरकारी उत्पादन, वडा नं. २ लाई च्याउ उत्पादन, वडा नं. ५ लाई केरा उत्पादन तथा अन्य वडालाई मह उत्पादनलगायतका सम्भावित कृषि क्षेत्रमा केन्द्रित गर्दै व्यावसायिक कृषि प्रवर्द्धनको अभियान अघि बढाइएको उहाँको भनाइ थियो।

उपप्रमुख तमाङले पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ, दलित तथा वञ्चित समुदायको आयआर्जन र जीविकोपार्जनमा सुधार ल्याउन नगरपालिकाले प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै लक्षित कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनुभयो।

कार्यक्रममा कार्यपालिका सदस्य शान्ती महतो, तालिमका सहभागी लक्ष्मी चेपाङ र निराजन चेपाङले तालिम तथा सामग्री वितरणले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन प्रेरणा मिलेको धारणा राख्नुभयो।

वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष न्यौपानेले तालिमसँगै कृषि सामग्री उपलब्ध गराइएकाले विपन्न तथा सीमान्तकृत समुदायको आय वृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरतामा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कालिका नगरपालिकाले पछिल्ला वर्षहरूमा चेपाङ, दलित तथा अन्य वञ्चित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले आयमूलक कार्यक्रम, सीप विकास तथा कृषि प्रवर्द्धनका कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।

एक सातासम्म सञ्चालन भएको उक्त तालिम तथा सामग्री वितरण कार्यक्रम कालिका नगरपालिका वडा नं. १० को कार्यालयमा सम्पन्न भएको हो।

–00—

Share:

सम्बन्धित समाचारहरु