चितवन। वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालय, भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा वर्षायामका बेला हुन सक्ने पहिरोको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी गरेको हो।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का कारण जोखिमयुक्त स्थानमा पहिरो खस्ने सम्भावना उच्च रहने भएकाले सडक अवरुद्ध भएमा तत्काल खुलाउन आवश्यक उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको छ।
उहाँका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहो लोडर तैनाथ गरिएको छ। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोर क्षेत्रमा एक लोडर तयारी अवस्थामा राखिएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पन्छाएर सवारी आवागमनलाई नियमित र सहज बनाउने उद्देश्यले उपकरणसँगै अपरेटरहरू पनि तयारी अवस्थामा राखिएको इन्जिनियर लामिछानेले बताउनुभयो।
नारायणगढ–मुग्लिन सडकखण्ड वर्षायाममा लेदोसहितको पहिरो र हिउँदमा सुक्खा पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गका रूपमा रहेको यस सडकबाट दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। यस कारण सडक सञ्चालनलाई निरन्तर र सुरक्षित राख्न वर्षायामअघि नै विशेष तयारी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।–00–


