काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरेको छ। फाउण्डेसनले राष्ट्रिय विचार गोष्ठीसहित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम छ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा उनीहरूले आफ्नो धारणा राख्नेछन्। पछिल्लो राजनीतिक परिस्थितिका बीच विभिन्न कम्युनिस्ट तथा अन्य राजनीतिक दलका शीर्ष नेताहरूको एउटै मञ्चमा उपस्थिति रहने भएकाले कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ।
मार्क्सवादको नवीन प्रयोगकर्ता, राजनीतिक विचारक तथा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रवर्तक मानिने मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती मनाइँदै आएको छ।–00–


