थारू पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी चयन

वीरगन्ज, १३ असार । थारू पत्रकार संघ नेपाल पर्सा शाखाको अध्यक्षमा पुनम चौधरी सर्वसम्मत रूपमा चयन भएकी छन्। वीरगन्जमा सम्पन्न जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकिशोर चौधरी, महिला उपाध्यक्षमा एन्जल चौधरी, सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारू चयन भएका छन्। त्यस्तै सदस्यहरूमा अजित धामी, चन्द्रकान्त महतो थारू, पुजन थारू, गोविन्द चौधरी, राज ओझा, सन्जु चौधरी र अभिनाष चौधरी रहेका छन्।

वीरगन्जस्थित आदर्श छात्रबासको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन थारू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पत्रकारिता क्षेत्रमा थारू समुदायको सहभागिता क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

उनले पत्रकारिताबाट पलायन हुने प्रवृत्ति बढ्दै जाँदा थारू समुदायका पत्रकारहरूलाई पेशामै टिकाइराख्न चुनौती थपिएको बताए। पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रशिक्षणमूलक कार्यक्रमलाई संघले प्राथमिकतामा राख्ने पनि उनले जानकारी दिए।

कार्यक्रममा संघका पूर्व अध्यक्ष सन्तोष दहितले थारू पत्रकारहरूले पत्रकारितामा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारितामार्फत थारू समुदायका मुद्दा तथा सरोकारका विषय सम्बन्धित निकायसम्म पुर्‍याउन र देशभरका थारू पत्रकारहरूलाई संगठित बनाउन थारू पत्रकार संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

 

त्यसैगरी, संघका पूर्व कोषाध्यक्ष तथा फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले बारा र पर्सा जिल्लामा कार्यरत थारू पत्रकारहरूको वर्तमान अवस्थाबारे जानकारी गराउँदै समुदायमुखी पत्रकारितालाई सशक्त बनाउन संघले थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

शम्भु महतो थारूको अध्यक्षतामा सम्पन्न अधिवेशनमा परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायत पत्रकार तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु