चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दी गराउने प्रयास भएको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।
चितवनमा जारी पार्टीको महाधिवेशनस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकजुट भएको दाबी गरे। उनले पार्टीभित्र गुटबन्दी सिर्जना गर्ने प्रयास गर्नेहरूमाथि आवश्यक कारबाही गर्न नेतृत्वलाई सुझाव दिए।
‘संस्थापन पक्ष एकजुट हुनुभएको छ भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्न चाहन्छु, गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिनुपर्छ,’ उनले भने।
महामन्त्री पदको निर्वाचनलाई लिएर मतदाताबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै झाले निर्वाचन परिणाम पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे। उनले पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउन आफू प्रतिबद्ध रहेको समेत बताए। –00–


