चितवन, ६ असार । भोलि भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकाय परिचालन गरी विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुने विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र बागमती प्रदेश प्रहरी कार्यालयबाट थप जनशक्ति समेत परिचालन गरिनेछ।
सुरक्षा निकायले ट्राफिक व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा लिएको छ। विशेषगरी नारायणी पुल र आसपासका क्षेत्रलाई संवेदनशील मान्दै सवारी व्यवस्थापन तथा आवश्यक परे रुट डाइभर्सनको तयारी गरिएको छ।
रास्वपाले महाधिवेशनमा करिब १५ हजार सहभागी रहने जनाएको छ भने सुरक्षा निकायले सोभन्दा बढी संख्या हुनसक्ने अनुमान गर्दै सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
तस्विरः प्रतिमा सिलवाल


