चितवन, ५ असार । कालिका नगरपालिकाले गुणस्तरीय, समावेशी तथा व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षा र खेलकुद क्षेत्रको समग्र विकासका लागि विभिन्न महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ।
दोस्रो कार्यकालका लागि नवौ नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा नगर क्षेत्रका विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार, शिक्षक क्षमता विकास तथा खेलकुद पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको जनाएको छ।
नगरपालिकाले बालविकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूलाई थप प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। साथै संस्थागत विद्यालयहरूले विद्यार्थी सङ्ख्याका आधारमा प्रदान गर्ने जेहेन्दार, गरिब तथा विपन्न लक्षित छात्रवृत्ति र मासिक शुल्क निर्धारण कार्यलाई कडाइका साथ नियमन गरिने बताइएको छ।
सामुदायिक विद्यालयबाट अध्ययन गरी प्राविधिक तथा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि प्रदान गरिँदै आएको प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ। नगरपालिकाले “गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला” भन्ने नारासहित विद्यालयको भौतिक वातावरणदेखि कक्षा कोठासम्म सुधार गर्ने योजना अघि सारेको छ।
शिक्षाको न्यूनतम सेवा गुणस्तर मापदण्ड (EMSS) का आधारमा विद्यालयहरूको स्तरीकरण तथा शैक्षिक गुणस्तर परीक्षण सूचक निर्माण गरी क्रमशः सबै विद्यालयमा लागू गरिने भएको छ। उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान, प्रोत्साहन र पुरस्कारको व्यवस्था समेत गरिने नगरपालिकाले जनाएको छ।
अध्ययनका क्रममा विद्यालय छाड्ने विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तथा प्राविधिक तालिम प्रदान गरी रोजगारी सिर्जनामा जोडिने वातावरण बनाइनेछ। विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) लाई प्रभावकारी बनाउने कार्यक्रम पनि सञ्चालन गरिनेछ।
शिक्षकहरूको पेशागत क्षमता विकासका लागि विषयगत तालिम, पुनर्ताजगी तालिम, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी तालिम, विद्यालय लेखा तथा जिन्सी व्यवस्थापन तालिम सञ्चालन गरिने योजना छ। साथै अभिभावक शिक्षाका कार्यक्रम र शिक्षक अनुसन्धानलाई प्रोत्साहन गर्न ‘शिक्षक जर्नल’ प्रकाशन गरिने जनाइएको छ।
नगरपालिकाले “कालिकाको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नारासहित शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ। यसअन्तर्गत विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ भने अनुसन्धानमुखी शैक्षिक गतिविधिलाई प्रोत्साहन गरिनेछ।
यस्तै “एक विद्यालय, एक करेसाबारी” कार्यक्रम सञ्चालन गरी विद्यालयलाई उत्पादनसँग जोडिने योजना पनि अघि सारिएको छ। विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ अवधारणाअनुसार स्थानीय उत्पादन र व्यवहारिक शिक्षासँग जोडिने कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
खेलकुदतर्फ नगरपालिकाले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै नगरक्षेत्रभर खेलकुद पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना तथा खेलकुद विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगर खेलकुद विकास समिति गठन गरी एकद्वार प्रणालीमार्फत खेलकुद क्षेत्रको व्यवस्थापन गरिनेछ।
राष्ट्रपति रनिङ शिल्ड, मेयर कप लगायत नगरस्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ भने प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गरिनेछ। जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने व्यवस्था पनि गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सुरक्षित, बालमैत्री, अपाङ्गमैत्री तथा प्रविधिमैत्री विद्यालय निर्माण, विद्यालय सरसफाइ तथा वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै शिक्षा र खेलकुद क्षेत्रको समग्र विकासमार्फत सक्षम, सीपयुक्त र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रम नगरप्रमुख विनोद रेग्मीले प्रस्तुत गर्नुभएको हो ।


