काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको उल्लेख गरे । साथै यसले साझा राष्ट्र निर्माणको संकल्पका लागि नागरिकलाई अभिप्रेरित गरेको उनको भनाइ थियो ।
उनले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति गराएको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्रै जनताको अपेक्षा पूरा नहुने बताए । उनले राजनीतिक उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सुशासन, जिम्मेवार नेतृत्व र प्रभावकारी कार्यशैली आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार लोकतान्त्रिक व्यवस्थालाई जनतामैत्री, उत्तरदायी र परिणाममुखी बनाउन सबै राजनीतिक दल तथा नेतृत्व तह गम्भीर बन्नुपर्ने आवश्यकता छ ।–00–


