चितवन । कालिका नगरपालिका ले नगर क्षेत्रभित्र नर्सरी कक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदान गर्ने तयारी थालेको छ । नेपालको संविधानको धारा ३१ अन्तर्गत व्यवस्था गरिएको शिक्षा सम्बन्धी मौलिक हक तथा अनिवार्य एवं निःशुल्क शिक्षा सम्बन्धी कार्यविधि अनुसार नगरपालिकाले चार वर्षदेखि १३ वर्ष उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित वडा तहबाट अभियान सुरु गरेको हो ।
यस अभियानको सुरुवात वडा नं. ४ बाट गरिएको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा “अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा” का लागि सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद रेग्मी ले बागमती प्रदेश सरकारसँग सहकार्य गरी अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको जानकारी दिनुभयो । आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले जिम्मेवारीपूर्वक काम गरिरहेको उहाँको भनाइ थियो ।

“सामुदायिक विद्यालयलाई शुल्क नलिन निर्देशन दिएका छौं,” नगर प्रमुख रेग्मीले भन्नुभयो, “विद्यालयलाई आवश्यक पूर्वाधार, खानेपानी तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न पनि नगरपालिकाले प्राथमिकताका साथ योजना बनाइरहेको छ ।” उहाँले वडा नं. १ देखि ११ सम्म वडा तहबाट प्रतिबद्धता अभियान सञ्चालन गरी त्यसपछि नगरस्तरीय घोषणा कार्यक्रममार्फत योजनालाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख विमला तामाङ ले शिक्षालाई कालिका नगरपालिकाले सुरुदेखि नै उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । मेयर केयर कार्यक्रम, “बालबालिकासँग उपमेयर” लगायतका कार्यक्रममार्फत नगरपालिकाले शैक्षिक विकासमा निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो । माध्यमिक तहसम्म नै निःशुल्क शिक्षा लागू गर्ने चाहना भए पनि नगरपालिकाको आर्थिक अवस्था कमजोर भएकाले हाललाई नर्सरीदेखि कक्षा ८ सम्म मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई ले २०७२ सालको संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न नगरपालिका अग्रसर भएको बताउनुभयो । “अनिवार्य शिक्षा भन्नेबित्तिकै निकै ठूलो र जटिल विषय हो कि भन्ने लाग्थ्यो,” उहाँले भन्नुभयो, “तर गहिरिएर अध्ययन गर्दा यसलाई व्यवहारमा लागू गर्न सकिने रहेछ ।”

कार्यक्रममा वडा नं. ४ स्थित गड्यौली आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक यादवप्रसाद रिजाल ले कार्यक्रम स्वागतयोग्य भए पनि यसको दीगोपनाको विषयमा चिन्ता व्यक्त गर्नुभयो । नगर क्षेत्रका सबै विद्यालय आर्थिक रूपमा सबल नरहेको उल्लेख गर्दै उहाँले पाठ्यपुस्तक, स्टेशनरी तथा अन्य आवश्यक सामग्री व्यवस्थापनमा थप ध्यान दिनुपर्ने बताउनुभयो । “विद्यालयको सम्पूर्ण आर्थिक जिम्मेवारी नगरपालिकाले लिएर शैक्षिक व्यवस्थापन विद्यालयलाई जिम्मा दिने हो भने निजी विद्यालयभन्दा पनि राम्रो नतिजा दिन सक्छौं,” उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा वडा नं. ४ का संस्थापक वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ ले भौतिक पूर्वाधार मात्रै विकास नभएको बताउँदै समग्र नागरिकको आर्थिक उन्नति नै वास्तविक विकास भएको धारणा राख्नुभयो । “आर्थिक उन्नतिका लागि शिक्षा अनिवार्य छ,” उहाँले भन्नुभयो, “पढ्न नपाएका बालबालिकाका लागि निःशुल्क शिक्षा अत्यन्त आवश्यक थियो । शिक्षित समाजले मात्रै देशको विकास गर्न सक्छ ।”
वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान ले वडा तहबाटै अभियान सुरु गर्नुको उद्देश्य स्थानीय तहबाट जनप्रतिबद्धता जुटाउनु रहेको बताउनुभयो । आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालयको पहुँच बाहिर नहोस् भन्ने उद्देश्यले नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षालाई प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य ज्योति सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति तेजबहादुर नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो ।–00—

