सात वर्षपछि हत्या आरोपित पक्राउ, चितवन प्रहरीले बाराबाट ल्यायो अभियुक्त

 चितवन । चितवन प्रहरीले सात वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–४ का पञ्चदेव महरा रहेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जेठ ५ गते बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट पक्राउ गरी चितवन ल्याएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार पञ्चदेव महरामाथि २०७६ सालमा चितवनमा भएको हत्या घटनामा संलग्न रहेको आरोप छ ।

२०७६ चैत २३ गते साँझ खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्याँस उद्योग गण्डकी परिसरभित्र मजदुर बस्ने कच्ची घरमा बारा फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार सखिचनको बायाँ कान पछाडि गहिरो चोट लागेको तथा बायाँ हातको पाखुरा भाँचिएको अवस्थामा शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा तत्कालीन समयमा ३० वर्षीय पुनदेव भनिने पञ्चदेव महरा नै घटनामा संलग्न रहेको खुलेपछि प्रहरीले २०७६ चैत २५ गते नै चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । तर उनी त्यसयता फरार रहँदै आएका थिए ।

पक्राउ परेका महरालाई चितवन जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको हिरासत अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु