कालिका, चितवन । गर्मी मौसमसँगै वन डढेलो र आगलागीको जोखिम बढ्ने भएपछि कालिका नगरपालिकाले त्यसको नियन्त्रणका लागि पूर्व तयारी तीव्र पारेको छ। नगरक्षेत्रका विभिन्न सामुदायिक वनहरूमा हुने सम्भावित डढेलो नियन्त्रण गर्न नगरपालिकाले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको हो।
यसै अभियान अन्तर्गत, नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजना र साझेदार संस्था लुमन्तीको सहकार्यमा भीमवली सामुदायिक वन क्षेत्रमा एकदिने सचेतना कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, वन हेरालु र उपभोक्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कालिका नगरपालिकाकी कार्यवाहक मेयर विमला तामाङले विपद् व्यवस्थापनमा पूर्व तयारीको महत्वमाथि जोड दिनुभयो। “डढेलो लागेपछि क्षति नियन्त्रण गर्नुभन्दा, डढेलो लाग्नै नदिने वातावरण बनाउनु हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।
विगतमा हावाहुरीका कारण नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेको क्षतिको स्मरण गर्दै कार्यवाहक मेयर तामाङले भन्नुभयो— “क्षति भएपछि पछुताउनु भन्दा क्षति हुनै नदिन समयमै तयारी गर्नुपर्छ। यसका लागि वन संरक्षणमा प्रत्यक्ष जोडिने वन हेरालु र स्थानीय टोल विकास संस्थाहरूलाई जिम्मेवार बनाउनु आवश्यक छ।”

कार्यक्रममा वन अधिकृत आशिष ढकाल र नगरपालिकाका वन, वातावरण तथा विपद् शाखा प्रमुख ई. राजेश कोइरालाले वन डढेलोले पार्ने वातावरणीय प्रभाव र यसलाई नियन्त्रण गर्ने प्राविधिक उपायहरूबारे सहजीकरण गर्नुभएको थियो।
सामुदायिक वनको सभाहलमा सम्पन्न सो कार्यक्रम भीमवली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मछिन्द्र पाण्डेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष एवं समिति संयोजक टिकाराम रेग्मी, लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाईबा, सब-इन्जिनियर जीवेश जोशी लगायतको उपस्थिति थियो।
नगरपालिकाका सूचना अधिकृत प्रकाशचन्द्र पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूले डढेलो नियन्त्रणका लागि स्थानीय स्तरमा अपनाउनुपर्ने सावधानी र आपतकालीन सम्पर्क संयन्त्रबारे जानकारी हासिल गरेका थिए।




–00–

