जंगली हात्तीको आतंक : ट्रक चालकको मृत्यु, राजमार्गमा आवागमन अवरुद्ध

 काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण स्थानीयवासी र यात्रुहरू आतंकित बनेका थिए । हात्तीको गतिविधि बढेपछि प्रशासनले राजमार्ग प्रयोग नगर्न र वैकल्पिक बाटो रोज्न चालकहरूलाई अनुरोध गरेको थियो ।

तर, सोमबार बिहान केही सवारी चालकहरूले उक्त अनुरोधको अवज्ञा गरेपछि दुःखद घटना भएको हो । बिहान करिब ८ बजे ना४ख १८३० नम्बरको ट्रकमा सवार चालकमाथि हात्तीले आक्रमण गरेको बारा प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट बच्न ट्रकबाट हाम्फाल्ने प्रयास गर्ने क्रममा जितपुरसिमरा–१ का करिब ४० वर्षीय चालक राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार हात्ती पथलैया–निजगढ सडकखण्डको पिलुवा र निजगढ बीचको क्षेत्रमा सक्रिय छ । हात्तीको आतंकका कारण राजमार्ग केही समयका लागि पूर्णरूपमा अवरुद्ध भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । टोली परिचालन भएसँगै सोमबार दिउँसो करिब १२:३० बजेपछि राजमार्गमा सवारी सञ्चालन पुनः सुरु गरिएको छ ।

स्थानीय प्रशासनले यात्रु र चालकलाई आवश्यक सतर्कता अपनाउन र वन्यजन्तु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु