चितवन । कालिका नगरपालिकामा रहेको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको दशौं वर्षमा प्रवेश गरेको छ ।
२०७२ सालमा तत्कालीन डिभिजन सहकारी कार्यालय भरतपुरमा दर्ता भई सेवा प्रारम्भ गरेको यस सहकारीले संघीय पुनःसंरचनापछि कालिका नगरपालिकामा दर्ता कायम राख्दै सहकारी ऐन तथा नियमावली अनुसार निरन्तर सेवा दिइरहेको छ।
३० जना महिलाको प्रारम्भिक समूहबाट ५ लाख रुपैयाँ बचत र ३ लाख रुपैयाँ शेयर पूँजीसहित जम्मा ८ लाख रुपैयाँबाट सुरु भएको यो सहकारीमा हाल ५४६ जना महिला सदस्यहरू आबद्ध छन्। हालसम्म बचत, शेयर तथा विविध कोषमार्फत संस्थाको कुल पूँजी करिब २ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
सहकारीले आर्थिक सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। त्यसअन्तर्गत बाख्रा पैचो कार्यक्रम सबैभन्दा लोकप्रिय रहेको छ भने पशुधन कार्यक्रमअन्तर्गत बाली तथा पशु बीमा जस्ता गतिविधिहरू पनि प्रभावकारी रूपमा अगाडि बढाइएका छन्। यस्तै, वातावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाइ अभियान र हरित सडक निर्माण जस्ता गतिविधिहरू नियमित रूपमा गर्दै आएको सहकारीले घरेलु हिंसा, मानव बेचबिखन, लागुऔषध दुरुपयोगविरुद्धका सामाजिक सचेतनामूलक अभियानहरू पनि सञ्चालन गर्दै आएको छ।
दशौं स्थापना दिवसको अवसरमा आज एक विशेष समारोहको आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सहकारीको उद्घाटन गर्दै चेतना चेली सहकारीले बचत संस्कार र महिलाको सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले नगरपालिकाले सहकारीका योजनामा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ चितवनका अध्यक्ष भिष्म खनाल, कालिका नगरपालिकाका सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, र पशु सेवा शाखा प्रमुख डा। राजु प्रसाद न्यौपानेलगायतका वक्ताहरूले सहकारीको सफल यात्राप्रति शुभकामना व्यक्त गरे।
कार्यक्रमका अवसरमा सहकारीको स्थापना कालदेखि संस्थाको विकासमा महत्वपूर्ण भूमिका खेलेकी बुद्धिमाया घलेलाई सम्मान गरिएको थियो। साथै, सहकारीका सदस्य चेलीहरूले सरोकारवालाहरुसँग सहकारीको भूमिका र स्थानीय तहको जिम्मेवारीबारे अन्तरक्रिया, जिज्ञासा तथा सवाल–जवाफ सत्रसमेत सञ्चालन गरेका थिए।
कार्यक्रममा भजन, चुट्का र प्रस्तुतीमार्फत सहकारीको यात्रा, उपलब्धि र योगदानबारे रोचक जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रमको अध्यक्षता सहकारी संस्थाकी अध्यक्ष विष्णु लामाले गर्नुभएको थियो।




–00–


