काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सबै राजनीतिक गतिविधि यही संविधानको आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। “यो संविधानलाई कायम राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तर संविधानभन्दा बाहिर गएर समाधान खोजियो भने केही समयपछि ठूलो समस्या आउन सक्छ,” उनले चेतावनी दिए।
थापाले सामाजिक सञ्जाल बन्द गर्ने जस्ता निर्णयलाई समाजले अस्वीकार गर्ने भन्दै नागरिक अधिकार खोस्ने काम स्वीकार्य नहुने स्पष्ट पारे। संविधानको दायराभित्र रहँदै पार्टी सुधार, नेतृत्व परिवर्तनलगायत कार्य गर्न सकिने उनले उल्लेख गरे।
उनले पुनर्निर्माणमा सबैको सहयोग आवश्यक हुने, गल्ती गर्नेहरुलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र नागरिकले संविधानलाई सम्हाल्दै जानुपर्नेमा जोड दिए।
साथै, उनले विगतका कमजोरीका लागि माफी माग्दै सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।–00–


