१४ घरपरिवारलाई सुरक्षति आवास निर्माणमा सहयोगगर्ने निर्णय

वाल्मीकि आश्रम क्षेत्रको विकासका लागि माडी नगरपालिकाले देखायो चासो

चितवन । माडी नगरपालिका वडा नं १ अन्तर्गत बाल्मिकि आश्रम क्षेत्रमा रहेका १४ घरपरिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग गर्ने निर्णय भएको छ । माडी नगरपालिकाको ५५ औं कार्यपालिका बैठकले खरको छानो हटाएर टिनसहितको घर बनाउन प्रति परिवारलाई ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले पहिलो पटक आश्रममै कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको यो पुरानो बस्ती निकुञ्जकै जग्गामा बसेको हो । बस्तीले आश्रम र सीमा क्षेत्रको सुरक्षा गर्दै आएको भए पनि सामान्य आधारभूत सुविधा अभावमा बस्दै आएका कारण नगरपालिकाले तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सहयोग गर्ने भएको नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

यस बस्तीमा अधिकांश बालबालिका विद्यालयबाहिर रहेका छन् । विद्यालय टाढा भएका कारण किशोर–किशोरीहरु पढाइबाट वञ्चित हुँदा नगरपालिकाले शिक्षाको अधिकार सुनिश्चित गर्न तत्कालै एक जना प्रारम्भिक बालविकास सहजकर्ता नियुक्त गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थानीय काला राना मगरलाई सहजकर्ताको जिम्मेवारी दिन तयारी गरिएको हो ।

यसैगरी, बाल्मिकि आश्रममा रहेको पुरातात्त्विक पार्क अवलोकन गर्न आउनेहरुबाट सरसफाई शुल्क लिने निर्णय भएको छ । मन्दिर प्रवेश र दर्शन भने निशुल्क हुनेछन् । स्थानीयलाई ५ रुपैयाँ, भारतीय नागरिकलाई १० रुपैयाँ (भारतीय मुद्रा) र विदेशीलाई ५० रुपैयाँ शुल्क लिने तयारी छ ।

बैठकले आश्रम क्षेत्रका दुईवटा मन्दिरलाई २४ सै घण्टा खुला राख्ने, खानेपानी र शौचालयको व्यवस्था गर्ने, साथै भूक्षय रोकथामका लागि विशेष योजना ल्याउने निर्णय पनि गरेको छ । मन्दिरमा संकलन हुने भेटी व्यवस्थापनमा पारदर्शिता कायम गर्दै नगरपालिकाले अभिभावकत्व लिने पनि नगरप्रमुख महतोले स्पष्ट पार्नुभयो ।

महर्षि वाल्मीकिले तपस्या गरेको, भगवान राम र सीताको छोराहरु लव–कुशको जन्मस्थल रहेको वाल्मिकि आश्रम भारतीय हिन्दु धर्मावलम्बीको पनि आस्थाको केन्द्र हो । यहाँ लव–कुशले शिक्षा लिएको सेथल, सीताको पाताल प्रवेशस्थल, अठ्ठासी हजार ऋषिहरूले हवन गरेको कुण्ड, वाल्मीकिको अन्तर्ध्यान स्थललगायत ऐतिहासिक अवशेष छन् ।

हाल चितवन राष्ट्रिय निकुञ्जभित्र बाटो नहुँदा आश्रम पुग्न नवलपुर हुँदै भारततर्फ प्रवेश गर्नुपर्ने बाध्यता छ । नेपालतर्फ झोलुंगे पुल बने पनि आवश्यक प्रक्रिया पूरा नभएकाले सञ्चालनमा आउन सकेको छैन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले मन्दिर क्षेत्रमा देखिएका बेथिति अन्त्य गरी वाल्मिकि आश्रमलाई व्यवस्थित र सबैले हेर्न लायक गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।—00—

Share:

सम्बन्धित समाचारहरु