नेपालका विशिष्ट महिलाहरु’ शीर्षकमा फोटो प्रदर्शनी

काठमाण्डौं,३१ साउन । । सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको संयुक्त आयोजनामा ‘नेपालका विशिष्ट महिलाहरु’ शीर्षकको फोटो प्रदर्शनी भाद्र २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

यसअघि २०७४ सालमा पहिलोपटक आयोजना गरिएको यो महिलासम्बन्धी दोस्रो प्रदर्शनी हो । प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा हुनेछ ।

आयोजकका अनुसार प्रदर्शनीमा नेपाली इतिहासदेखि वर्तमानसम्मका करिब ३ सय विशिष्ट महिलाहरुका ऐतिहासिक तथा दुर्लभ फोटोहरु प्रदर्शित गरिने छन् । नेपाली समाज, राजनीति, कूटनीति, साहित्य, कला, संस्कृति, खेलकुददेखि व्यवस्थापनसम्मका योगदानलाई उजागर गर्ने खालका ऐतिहासिक र रोचक तस्वीरहरु प्रदर्शनीमा समावेश हुनेछन् ।

त्यस्तै समाज, राजनीति र खेलकुद क्षेत्रमा प्रथम तथा रेकर्डधारी महिलाहरुको साहस, समर्पण र भूमिकालाई पनि प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ ।

संग्रहालयले विगत दशकयता विभिन्न विषयमा प्रदर्शनी गर्दै आएको छ । यसअघि विपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायणगोपाल, माओवादी जनयुद्धका दुई दशक, भिन्टेज तथा क्लासिक गाडी आदिका विषयमा प्रदर्शनी गरिएको थियो । यही क्रममा गत असार १० गते देखिनै प्रदर्शनी गर्ने योजना भए पनि संस्थाका अध्यक्ष क्षितिज अरुण श्रेष्ठको अकस्मात् निधनका कारण झण्डै दुई महिना ढिलो गरी यसपटक प्रदर्शनी सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।

फोटो प्रदर्शनी भाद्र २ गते दिउँसो १ बजे उद्घाटन हुने छ भने अन्य तीन दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ । नासा फाउन्डेसन नेपालसँग सहकार्यमा हुने प्रदर्शनीमा सेकुवा बाई किलो, हरिसिद्धि नेवा सुली, अननेके ब्युटी सलोन, फोटो किङ, जलपा वाटर्स, निबुँ पानी र एएस रेन्टल सर्भिसले सह प्रायोजन गरेका छन् ।

आयोजकले आधुनिक नेपाल निर्माणमा महिलाको योगदानबारे बुझ्न र गौरव गर्ने महत्वपूर्ण अवसर यस प्रदर्शनीले उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ । –00—

Share:

सम्बन्धित समाचारहरु