चितवन,१० साउन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत आपूर्तिमा अत्यधिक लोड व्यवस्थापन गर्न भन्दै चितवनका विभिन्न क्षेत्रहरूमा दैनिक ६ घण्टासम्म लोडसेडिङ गर्ने निर्णय सार्वजनिक गरेको छ।
शनिबार साँझ जारी गरिएको सूचनाअनुसार श्रावण ११ गते आइतबारदेखि लागू हुनेगरी माडी, नारायणी, मेघौली, विजयनगर, शुक्रनगर, जगतपुर र रामपुर क्षेत्रका फिडरहरूमा चरणबद्ध रूपमा विद्युत आपूर्ति बन्द गरिने भएको हो।

तालिकाअनुसार, नारायणी फिडरमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि साँझ ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म, भने जगतपुर–रामपुर फिडरमा दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म लोडसेडिङ गरिने छ।
प्राधिकरणका अनुसार भरतपुर ३३/११ के.भी. सबस्टेशनअन्तर्गतको ३३ के.भी. लाइनले ३०० एम्पियर भन्दा बढी लोड थेग्न सक्दैन। तर पछिल्लो समय उक्त लाइनमा लोड ४५० एम्पियरसम्म पुग्दा आपूर्ति अवरुद्ध गर्नु बाहेक विकल्प नभएको चनौली वितरण केन्द्रले जनाएको छ।

रोपाईंको चटारो, सिँचाइमा प्रयोग हुने मोटरहरूको अत्यधिक प्रयोग र गर्मीका कारण विद्युतको माग ह्वात्तै बढेपछि वितरण प्रणालीमा दबाब उत्पन्न भएको छ। यही कारण अस्थायी रूपमा सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाइ छ।
बिजुली बन्द हुँदा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले अवस्था सामान्य भएलगत्तै सेवा नियमित गरिने प्रतिबद्धता पनि जनाएको छ।
यता, माडी वितरण केन्द्रका प्रमुख सुदर्शन पाण्डेले भने यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। उहाँले लोडसेडिङसम्बन्धी तालिका चनौली वितरण केन्द्रबाटै प्रकाशित भएको स्पष्ट पार्नुभयो।
चनौली शाखाले तालिका जारी गरे पनि, चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा शनिबार साझ मोबाइल अफ अवस्थामा रहेकोले सम्पर्क हुन सकेन ।
यद्यपि आज बिहानमात्र स्थानीय जनप्रतिनिधि, माडी नगरपालिकाका उपप्रमुख, विभिन्न वडाका अध्यक्षहरू, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको सहभागितामा चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठसँग माडी वितरण केन्द्रमा भयको छलफलमा एक साताभित्र समाधान खोजिने मौखिक सहमति जनाइएको थियो। तर उक्त सहमतिलाई १० घण्टा पनि नबित्दै चनौली शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेकोमा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन ।–00–


