रेशम सापकोटा – सेतो नेपाल
चितवन,१० साउन – चितवनको माडीमा स्थानीय उद्योगी, व्यवसायी तथा नवप्रवर्तनशील युवालाई लक्षित गरी बजार र ब्रान्ड विस्तार विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
माडी जेसिजको आयोजनामा तथा उद्योग वाणिज्य संघ माडी र उद्योग संघ माडी इकाइको सहकार्यमा गरिएको कार्यशालामा ब्रान्ड निर्माण, उत्पादनको बजारीकरण र व्यवसायिकता अभिवृद्धिबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा बिटफ्ल्कस टेक्नोलोजिज कम्पनीका सहसंस्थापक तथा डिजिटल मार्केटिङ विशेषज्ञ प्रवीण काफ्लेले ब्राण्डको महत्त्व, उपभोक्ता व्यवहार र डिजिटल युगमा व्यवसाय विकासका उपायहरूबारे प्रशिक्षण दिएका थिए। उनले स्थानीयस्तरका उत्पादनहरूलाई कसरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ भन्ने विषयमा समेत उदाहरणसहित जानकारी दिएका थिए।
‘की नोट स्पीकर’का रूपमा सहभागी भएका नेपाल खुला विश्वविद्यालयका लेक्चरर तथा स्वदेश मिडिया ग्रुपका अध्यक्ष देवनारायण शाहले विज्ञापनको सम्भावना, सञ्चार माध्यमको प्रभाव र व्यवसाय विस्तारमा सञ्चारको भूमिकामाथि चर्चा गरेका थिए।
कार्यक्रममा अर्का वक्ता युवा उद्यमी रामचन्द्र लम्सालले माडी बाहिरको बजार अवस्था, सम्भावना र त्यसमा स्थानीय उद्यमीले कसरी स्थान बनाउन सक्ने भन्नेबारे अनुभव सुनाएका थिए।
माडी जेसिज २०२५ का अध्यक्ष ईश्वर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायी, होमस्टे सञ्चालक, कृषक, उद्यमी र नवप्रवर्तनमा रुचि राख्ने युवाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई व्यवसाय विस्तारको नयाँ दृष्टिकोण प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
संघ संस्थाहरूले आगामी दिनमा थप व्यवसायिक तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका छन्।

