गाँजासहितको कन्टेनर राप्तीमा समातियो, भारतीय चालक पक्राउ

चितवन, १० साउन – मकवानपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको कन्टेनर ट्रक चितवनको राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा आज बिहान ४ बजे चेकजाँच गर्दा ट्रकबाट ठूलो मात्रामा गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार युपी ८२ टी ३९२१ नम्बरको कन्टेनरमा लुकाइ राखिएको ६७१ किलो ६ सय ग्राम गाँजा फेला परेको छ। गाँजा ४३ वटा पोका बनाएर कन्टेनरको ड्राइभर क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाइ लुकाइएको अवस्थामा भेटिएको हो।

घटनासँगै भारतको बिहार राज्य, पूर्वी चम्पारणको तुर्कालिया निवासी ३७ वर्षीय चालक शेख सविल अख्तरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी रविन्द्र खनालले प्रारम्भिक अनुसन्धानमा कन्टेनर काठमाडौंबाट सामान खालि गरेर फर्कने क्रममा चितवनको राप्तीबाट गाँजा लोड गरी वीरगञ्ज हुँदै भारत लैजाने प्रयास गरिएको खुलेको जानकारी दिनुभयो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
आज प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी दिएको हो।–00–

Share:

सम्बन्धित समाचारहरु