माडीमा विद्युत समस्या समाधानको प्रतिबद्धता, बृहत छलफलपछि स्थानीय आशावादी

रेशम सापकोटा – सेतो नेपाल

चितवन, १० साउन । – चितवनको माडीमा आज (शनिबार) नेपाल विद्युत प्राधिकरण, माडी नगरपालिकाका जनप्रतिनिधि, माडी वितरण केन्द्रका कर्मचारीहरू तथा स्थानीयवासीबीच विद्युत आपूर्तिमा देखिएको समस्याबारे बृहत छलफल सम्पन्न भएको छ।

माडी–३ बसन्तपुरस्थित माडी वितरण केन्द्रमै आयोजित उक्त अन्तरक्रियामा नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख श्री राजकुमार श्रेष्ठ, माडी नगरपालिकाका उपप्रमुख श्री खेमप्रसाद महतो, सम्बन्धित वडा अध्यक्षज्यूहरू, माडी वितरण केन्द्रका प्रमुख तथा कर्मचारीज्यूहरू, प्राविधिक टोली, पत्रकार, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलमा बोल्दै नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख श्री राजकुमार श्रेष्ठले, माडी क्षेत्रमा बारम्बार देखिएको विद्युत अवरोधको समस्या एक साताभित्र समाधान गरिने प्रतिबद्धता जनाउनुभयो।

उहाँले माडीमा विद्युत खपत १८० एम्पियर पुगेको जानकारी दिँदै, हालको पूर्वाधारले ८०–८५ एम्पियर मात्र लोड धान्न सक्ने अवस्था भएकाले समस्या उत्पन्न भएको स्पष्ट पार्नुभयो। उहाँले तत्काल समाधानका लागि आवश्यक प्राविधिक सुधारका साथै दीर्घकालीन पूर्वाधार विस्तारको प्रक्रिया अघि बढाइएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख श्री खेमप्रसाद महतोले विद्युत आपूर्तिमा देखिएको अव्यवस्था सर्वसाधारण, व्यवसायी, कृषक, विद्यार्थी र स्वास्थ्य सेवा प्रयोगकर्ताहरू सबैका लागि पीडादायक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “समस्या समाधानका लागि नगर सरकार सधैं तत्पर छ। आवश्यक परे सम्बन्धित निकायमा प्रतिनिधिमण्डल पठाएर समन्वय गर्न तयार छौं।”

छलफलमा स्थानीयवासीहरूले लाइन झ्याप्प झ्याप्प जाने कारण, घरेलु उपकरणहरू बारम्बार बिग्रिने, मिटरमा अत्यधिक बिल आउने, र सिँचाइ तथा दैनिकीमा समस्या उत्पन्न भइरहेको गुनासाहरू राख्नुभएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु