भरतपुर, ८ साउन ।— चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, तीमध्ये सबैभन्दा धेरै—८ जनाको मृत्यु गैँडाको आक्रमणबाट भएको हो। त्यसैगरी हात्तीको आक्रमणबाट २ जना र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन्। तीमध्ये ३२ जना गम्भीर र ९ जना सामान्य घाइते भएको निकुञ्जले जनाएको छ।
वन्यजन्तुको आक्रमणमा परेका अधिकांश व्यक्ति घाँस काट्न वा निगुरो टिप्न गएका स्थानीय बासिन्दा रहेको बताइएको छ। बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायतका जनावरबाट यस्ता घटनाहरू दोहोरिइरहेका छन्।
निकुञ्जका तथ्यांकअनुसार, पछिल्लो पाँच वर्षमा मात्रै जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् भने १६९ जना घाइते भएका छन्। यस अवधिमा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै—३० जनाको मृत्यु भएको थियो। तीमध्ये २१ जनाको ज्यान बाघको आक्रमणबाट गएको थियो।
निकुञ्ज तथा सामुदायिक वन क्षेत्रका बासिन्दाहरू घाँसदाउरा गर्न अनुमति लिएर जंगल पस्ने गर्छन्। यस्तै कार्यका क्रममा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थान व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
निकुञ्जले जनचेतनामूलक कार्यक्रमका साथै मेस जाली जस्ता सुरक्षाका उपायहरू अपनाएको जानकारी दिएको छ।
पशु क्षतिको हिसाबले पनि अवस्था चिन्ताजनक देखिएको छ। गत आर्थिक वर्षमा मात्रै वन्यजन्तुको आक्रमणबाट १७९ वटा घरपालुवा पशु मरेका छन्। तीमध्ये १४० वटा चितुवाको आक्रमणबाट मरेका छन् भने ३७ वटा बाघ र २ वटा अजिङ्गरको आक्रमणबाट क्षति भएको छ।
त्यस्तै, १३ वटा घरको अन्न भण्डारणमा समेत हात्तीले क्षति पुर्याएको छ। कूल २३ घरमा हात्तीले सिधा क्षति पु-याएको तथ्यांक निकुञ्जले सार्वजनिक गरेको छ। –00–


