रेशम सापकोटा – सेतो नेपाल
चितवन, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा नेपाली वाम आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस माडी नगरपालिका–६ स्थित पुष्प–मदन बाटिकामा श्रद्धाञ्जली सभा र सरसफाइ कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रम नेकपा (एमाले) माडी नगर कमिटी र वडा नं. ६ वडा कमिटीको संयुक्त आयोजनामा गरिएको हो।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो भने माडी नगरपालिकाकी प्रमुख तथा एमाले जिल्ला कमिटी सदस्य तारा काजी महतो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि मेयर महतोले पुष्पलाल श्रेष्ठको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँको विचार र योगदान आज पनि सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “पुष्पलाल श्रेष्ठले नेपाली समाजमा वैज्ञानिक समाजवादको विचार बोकेर राजनीतिक चेतना फैलाउने अभियान चलाउनु भएको थियो।
उहाँको त्याग, सिद्धान्तप्रतिको प्रतिबद्धता र परिवर्तनको सपना आजको पुस्ताका लागि प्रेरणादायी छन्। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नु मात्र होइन, उहाँको आदर्शलाई व्यवहारमा उतार्न सक्नु नै सच्चा सम्मान हो।” साथै, उहाँले पुष्पलालको स्मृतिमा आयोजना गरिएको सरसफाइ अभियान र स्मृति सभाको सराहना गर्दै यस्ता कार्यक्रमहरूले युवापुस्तामा इतिहासप्रति सम्मान र सामाजिक उत्तरदायित्वको भावना बढाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटी तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागी वक्ताहरूले पुष्पलाल श्रेष्ठले नेपाली समाजमा राजनीतिक चेतना फैलाउन, वर्गीय अन्यायविरुद्ध आवाज उठाउन र वाम आन्दोलनको जग बसाल्न खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरेका थिए।
उनीहरूका अनुसार पुष्पलालको सोच, सिद्धान्त र मार्गदर्शन आज पनि वाम आन्दोलनका लागि मार्गदर्शक बनेको छ।
कार्यक्रमको संयोजन वडा नं. ६ का अध्यक्ष सूर्य भट्टराईले गर्नुभएको थियो भने सञ्चालन नेकपा एमाले माडी नगर कमिटीका उपसचिव कृष्णराज अधिकारीले गर्नुभएको थियो।–00–


