काठमाण्डौं, ३ साउन ।
नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि जारी छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चलिरहेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरूमाथि छलफल भइरहेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा पार्टीको सांगठनिक संरचना, पदाधिकारीको संख्या र विधान संशोधन सम्बन्धी विषयमा गम्भीर बहस भइरहेको छ।
पार्टी संरचना फेरबदलको प्रस्ताव:
बिहीबार सम्पन्न सचिवालय बैठकले तीनवटा प्रतिवेदन पारित गरिसकेको छ—
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,
उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव,
र महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन।
यी प्रस्ताव अनुसार—
🔹 सचिवालय पूर्ण रूपमा हटाइनेछ।
🔹 पार्टीको संरचना अब तीन तहमा सीमित हुनेछ — स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी।
🔹 केन्द्रीय कमिटी सदस्य संख्या ३०१ बाट घटाएर २५१ बनाइनेछ।
🔹 पदाधिकारीको संख्या १९ बाट घटाएर १५ सदस्यीय बनाइनेछ।
🔹 वरिष्ठ उपाध्यक्ष पद हटाइनेछ र त्यसको सट्टामा पहिलो वरीयताको उपाध्यक्षको व्यवस्था गरिनेछ।
अन्य महत्त्वपूर्ण प्रस्तावहरूमा:
-
प्रदेश कमिटीका अध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुनेछन्।
-
पदाधिकारीसहित एक तिहाइसम्म पोलिटब्युरोमा निर्वाचन हुने।
-
अध्यक्षको नेतृत्वमा १५ सदस्यीय स्थायी कमिटी रहने।
-
सबै पदाधिकारी र सदस्यहरूको वरीयताक्रम स्पष्ट तोकिनेछ।
अहिले चर्चामा रहेको प्रस्ताव के हो भने—
सचिवालय बैठकले दुई कार्यकालको हदम्याद हटाउने,
र ७० वर्षे उमेर सीमा पनि खारेज गर्ने प्रस्ताव पास गरेको छ।
यो प्रस्तावलाई लिएर पार्टीभित्र पनि विभिन्न खालका प्रतिक्रिया आउन थालेका छन्।
पोलिटब्युरोबाट पास भएका प्रस्तावहरू
साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछन्।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तयारी गरिएको छ।


