सिमलताल दुर्घटनाको एक वर्ष : अझै ३९ यात्रुको अवस्था अज्ञात

चितवन, २८ असार । सिमलताल दुर्घटनाको आज एक वर्ष पुगेको छ, तर उक्त दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका ३९ यात्रुको अझै पत्तो लागेको छैन।

२०७९ सालको यही असार २८ गते राति नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बसलाई बगाउँदा बसमा रहेका ६२ यात्रुहरूमध्ये ३९ जना अझै बेपत्ता छन्। उक्त दुर्घटनामा २० जनाको शव फेला परेको थियो भने तीन जना सकुशल उद्दार भएका थिए।

कुन बसमा कति यात्रु?
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘एञ्जल्स डिलक्स’ (बा.प्र.०३–००६ ख १५१६) मा २६ जना सवार थिए। तीमध्ये १० जनाको शव फेला परेको छ भने १६ जना अझै बेपत्ता छन्। सो बसमा रहेका सात जना भारतीय यात्रुहरूमध्ये दुई जनाको शव भेटिएको र पाँच जना अझै हराइरहेका छन्।

यस्तै, ‘गणपति डिलक्स’ (बा.प्र.०३–००१ ख २४९५) मा ३६ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित उद्दार गरिएका थिए भने १० जनाको शव भेटिएको छ। बाँकी २३ जना अझै बेपत्ता छन्। गणपति डिलक्समा रहेका चार भारतीयमध्ये तीन जनाको शव भेटिएको र एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

खोजी प्रयासमा पनि चुक  – 
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल्स डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्स दुवै बस पहिरोसहित त्रिशूली नदीमा खसेका थिए। नेपाली सुरक्षाकर्मीको टोलीले मात्र नसकेपछि विदेशी गोताखोरसमेत ल्याएर खोजी गरिएको थियो। तर, अहिलेसम्म न बस फेला परेको छ, न त बेपत्ता यात्रुहरू।

उक्त दुर्घटनामा त्रिशूली र नारायणी नदी किनारका विभिन्न ठाउँबाट २० जनाको शव फेला परेको थियो भने दुई जना भारततर्फ भेटिएका थिए।

सरकारी कार्यदलको प्रतिवेदन – 
गृह मन्त्रालयले सहसचिव छवि रिजालको संयोजकत्वमा तत्काल कार्यदल गठन गरेको थियो। गृहमन्त्री रमेश लेखकले पदभार सम्हालेपछि पहिलो निर्णयस्वरूप कार्यदल गठन गरेका थिए। कार्यदलले प्रतिवेदनमार्फत सडक सुरक्षामा लापरबाही, कमजोर संरचना र असुरक्षित सडक डिजाईन मुख्य कारण रहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा भनिएको छ — “दुर्घटनास्थल कमजोर भौगोलिक संरचना भएको, अत्याधिक क्रस स्लोप भएको र उचित इञ्जिनियरिङ्ग योजना बिना निर्माण भएको स्थानमा पर्खाल नबनाइँदा पहिरो गएको थियो। यही पहिरोले दुईवटा बसलाई नदीमा खसालेको हो।”

कार्यदलले घटनास्थलको निरीक्षण गर्नुका साथै बाँच्न सफल यात्रु, प्रत्यक्षदर्शी, सरोकारवाला निकाय र स्थानीय प्रशासनसँग छलफलसमेत गरेको थियो। प्रतिवेदनमा वेपत्ता यात्रुहरूको खोजी कार्य यथासक्य निरन्तर गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति तथा बीमा दावी शीघ्र उपलब्ध गराउन सुझाव दिइएको छ।

अक्षरशः कार्यान्वयनको प्रतिबद्धता
गृहमन्त्री लेखकले प्रतिवेदन बुझ्दै प्रतिवेदनका सिफारिसहरू अक्षरशः कार्यान्वयन गरिने बताउँदै अन्य निकायलाई समेत कार्यान्वयनमा सहयोग गर्न निर्देशन दिने प्रतिवद्धता जनाएका थिए।

Share:

सम्बन्धित समाचारहरु