रेशम सापकोटा – सेतो नेपाल
माडी, २७ असार ।
माडी नगरपालिका–८, दक्षिण अयोध्यापुरीस्थित फुलबारी आमा समूहलाई माडी नगरपालिकाले *‘उत्कृष्ट आमा समूह’*को रूपमा कदरपत्र र नगदसहित सम्मान गरेको छ। नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा आयोजित कार्यक्रममा टोल रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समूहलाई औपचारिक रूपमा सम्मानित गरिएको हो।
नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले समूहका अगुवा महिलाहरूलाई सम्मानपत्र हस्तान्तरण गर्दै स्थानीय स्तरमा महिलाको नेतृत्वद्वारा सम्भव भएको समाज रूपान्तरणको कदर गरिएको बताए।

फुलबारी आमा समूहले टोलको सौन्दर्य, स्वच्छता र सामाजिक चेतनामा निरन्तरता दिँदै आएको छ। सडकका दुबैतर्फ ढुंगा राखेर सिँगारिएको छ, फोहोर संकलनका लागि डोकोको व्यवस्था गरिएको छ, अनि घर–घरमा फूलबारीसहितको सफाइ राखिएको छ।
त्यसैगरी, समूहले मदिरा र लागुपदार्थ विरुद्ध चेतनामूलक अभियान, महिला सशक्तीकरण, र युवामा सकारात्मक सोच विकासका लागि पनि क्रियाशील भूमिका खेलेको छ।
“यो सम्मानले सामाजिक क्षेत्रमा अझ बढी हौसला दिएको छ। हामीले गरेको कामको मान्यता पाएका छौं, अब झनै जिम्मेवार भएर अगाडि बढ्नेछौं समूहकी सचिव सोमादेवी पन्तले भन्नुभयो ।


