रास्वपाले विपिन आचार्यलाई रुपन्देही-३ को उपनिर्वाचन कमाण्डर तोक्यो

काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।

पार्टी सचिवालयको हालै सम्पन्न बैठकले उम्मेदवार छनोटका लागि कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई राय संकलनका लागि प्रस्ताव पठाएको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, अब पार्टीले केही दिनभित्र उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट औपचारिक रूपमा आवेदन आह्वान गर्ने छ। प्राप्त आवेदनहरूको मूल्याङ्कन कार्यविधिअनुसार गरी उम्मेदवार टुंगो लगाइने उनले जानकारी दिए।

त्यसैगरी, बैठकले सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ को उपनिर्वाचनको कमाण्डरको जिम्मेवारी दिएको छ। आचार्यले उम्मेदवार छनोटदेखि चुनावी अभियानको समग्र जिम्मेवारी सम्हाल्नेछन्।

रास्वपाले हाल देशभर जनताको विश्वास बढाउँदै लिएको सन्देश दिँदै उपनिर्वाचनमा पनि सशक्त उपस्थिति जनाउने तयारी थालेको देखिएको छ।

 

Share:

सम्बन्धित समाचारहरु