चितवन, २२ असार । सहकारी पीडितको उजुरीका आधारमा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन भइरहेको हस्ताक्षर र चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस चितवनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा अनुसन्धानमा रहेका व्यक्तिको रिहाइको माग गर्दै विभिन्न स्थानमा सञ्चालन भइरहेको यस्तो अभियानलाई गैरकानुनी ठहर गरेको छ।
“सहकारी पीडितहरूको उजुरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धानमा रहेका व्यक्तिको पक्षमा दबाब सिर्जना गर्न खोज्ने यस्ता गतिविधिले कानूनको शासनमा हस्तक्षेप पुर्याउने खतरा बोकेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेसले अदालत र अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने उद्देश्यले सञ्चालित यस्ता अभियानहरू तत्काल रोक्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहँदै चन्दा संकलन गर्नु जनमानसमा शंका र भ्रम फैलाउने कार्य हो। यस प्रकारको अनधिकृत चन्दा संकलन तुरुन्त रोक्न स्थानीय प्रशासनलाई आग्रह गर्दछौं।”
कांग्रेस चितवनले राजनीतिक दलहरू, सरोकारवाला व्यक्ति र समूहहरूलाई कानुनी मर्यादा र न्यायिक प्रक्रिप्रति सम्मान गर्न पनि अपिल गरेको छ।
–00–


