हस्ताक्षर प्रकरणमा ट्राफिक सईको जिम्मेवारी खोसियो

काठमाडौं, २० असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा संलग्न भएको आरोपमा एक ट्राफिक प्रहरी अधिकृतको जिम्मेवारी खोसिएको छ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बोलाइएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले सई खड्कालाई हस्ताक्षर प्रकरणबारे अनुसन्धानका लागि हेडक्वार्टर झिकाइएको पुष्टि गरेका छन्।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले “राजनीतिक प्रतिशोधको विरोध” भन्दै नागरिकस्तरबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो। सोही अभियानमा ट्राफिक सई खड्काले समेत हस्ताक्षर गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी विवादमा तानिएका हुन्।

प्रहरी संगठनभित्र राजनीतिक पक्षपात नगर्नुपर्ने नियमविपरीत कार्य गरेको भन्दै खड्कामाथि छानबिन प्रक्रिया सुरु गरिएको बताइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु