– रेशम सापकोटा । सेतो नेपाल-
माडी, १८ असार । चितवन जिल्लाको माडी नगरपालिका–८ मा अवस्थित बैकुण्ठ धाम र धनलक्ष्मी झरना धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलहरू हुन्। हरियालीले ढाकिएको वनक्षेत्रभित्र फैलिएका पुरातात्त्विक अवशेष, पवित्र जलस्रोतहरू, किंवदन्तीहरू र अध्यात्मिक सम्पदाले यहाँ एक अनौठो आस्था र आकर्षणको वातावरण सिर्जना गरेका छन्।
धार्मिक ग्रन्थ र स्थानीय जनश्रुतिअनुसार, भगवान श्रीरामले बनवासकालमा यस क्षेत्रका जलस्रोतहरूमा स्नान गरी पूजा अर्चना गरेका थिए। विशेषतः बैकुण्ठ तालमा स्नान गर्दा पितृमोक्ष र पापमोचन हुने जनविश्वास छ। त्यस्तै, धनलक्ष्मी झरनाको पानीमा स्नान गर्दा धन र समृद्धि प्राप्त हुने विश्वास आजसम्म जीवित छ।

यस क्षेत्रका अन्य प्रमुख आकर्षणहरूमा प्रेम दह, मनमोह भिर, दुइकोली दोभान, परशुराम ढुङ्गा, पञ्चधारा, सतल शिवलिङ्ग, बैकुण्ठ ताल, बैकुण्ठेश्वर र सिद्धेश्वर मन्दिर, बैकुण्ठ चौर र धनलक्ष्मी झरना रहेका छन्। प्रेम दहलाई भगवान राम र सीताको विश्रामस्थलका रूपमा लिइन्छ भने परशुराम ढुङ्गामा भगवान परशुरामले फराले चिरेको पवित्र स्थल रहेको जनश्रुति छ। त्यहाँको ढुङ्गाको बीच भागबाट नछोई पार गर्दा पुण्य प्राप्त हुने जनविश्वासले तीर्थयात्रीलाई आकर्षित गरिरहेको छ।
यही धार्मिक स्थलहरूको अवलोकन गर्न हालै धाम विकास समिति, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको टोलीले धनलक्ष्मी झरनासम्मको यात्रा गरेको थियो। टोलीमा सहभागी देवेन्द्रपुर जगन्नाथ सम्पर्क मञ्च भरतपुर चितवनका अध्यक्ष पूर्णप्रसाद पोखरेलले भन्नुभयो, “भौतिक विकासका पूर्वाधार बाटोलाई सहज बनाउन सके माडीका लागि साँच्चै नै यस झरना धनलक्ष्मीको रुपमा साबित हुनेछ।”
वहाँका अनुसार, माडीको सम्भावनालाई मूर्तरूप दिन यहाँका प्राकृतिक सम्पदा, धार्मिक आस्था र स्थानीय सहभागितालाई समेटेर योजनाबद्ध ढंगले अघि बढ्न सके वैकुण्ठ क्षेत्र नेपालको प्रमुख धार्मिक पर्यटनस्थल बन्न सक्छ।
धाम समितिका अध्यक्ष राजकुमार परियारले भन्नुभयो , “धनलक्ष्मी झरना केवल एक प्राकृतिक छाँगो मात्र होइन, यो हाम्रो आस्था, संस्कार र समृद्धिको प्रतीक हो। यहाँ आउने जो कोहीले अध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्यको अद्भुत मेल पाउँछन्।”
अध्यक्ष परियारका अनुसार, धार्मिक संरचना विकास अन्तर्गत बैकुण्ठेश्वर शिव मन्दिर, सिद्धेश्वर मन्दिर, सतल शिवलिङ्ग, पञ्चधारा लगायतका संरचना निर्माण भइसकेका छन्। त्यस्तै, बैकुण्ठ चौरलाई सामुदायिक कार्यक्रम, पिकनिक, गोष्ठी र अधिवेशनका लागि प्रयोग गर्न थालिएको छ, जसले सामाजिक सहकार्य र स्थानीय समृद्धिमा उल्लेखनीय भूमिका खेलिरहेको छ।

धार्मिक गतिविधिहरूको हिसाबले यहाँ प्रत्येक वर्ष बाला चतुर्दशीको अघिल्लो दिन सयौं भक्तजन मन्दिर परिसरमा भजन–कीर्तनसहित जाग्राम बस्ने गर्दछन्। भोलिपल्ट बाला चतुर्दशीको दिन वैकुण्ठ ताल र धनलक्ष्मी झरनामा स्नान गरी सतबिज छर्ने परम्परा आज पनि यथावत् छ। यस परम्पराले स्थानीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।
बैकुण्ठ धामको यात्रा स्थानीय गाउँ नजिक रहेको बैकुण्ठ चौरबाट सुरु हुन्छ। चौरबाट करिब ६ सय मिटरमा सिँढी र रेलिङको सहायताले बैकुण्ठ तालसम्म पुग्न सकिन्छ। त्यहाँबाट करिब २ किलोमिटर टाढा रहेको धनलक्ष्मी झरनासम्मको रमणीय पैदल यात्रा गर्न झण्डै १.५ घण्टा लाग्छ। यात्रामा वनको हरियाली, खोला र चराचुरुङ्गीको चिरबिराहटले यात्रुलाई आत्मीय अनुभव दिलाउँछ।
गत वर्ष पूर्वाधार निर्माणतर्फ माडी नगरपालिका वडा नम्बर ८ बाट १० लाख रुपैयाँ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट ३ लाख ३४ हजार, र स्थानीय श्रमदानबाट करिब ७ लाख बराबरको योगदानसहित लगभग २० लाख रुपैयाँको लागतमा बैकुण्ठ तालदेखि धनलक्ष्मी झरनासम्मको ७ सय मिटर सिँढी र रेलिङ निर्माण कार्य सम्पन्न भइसकेको छ।

धाम समितिका अध्यक्ष परियारले यस वर्षको योजनाबारे थप जानकारी दिँदै भने, “अहिले निर्माण गरिएको सिँढीपछि अब झरनातर्फको बाटोलाई ढुङ्गा बिछ्याएर स्तरीकरण गर्ने योजना बनाएका छौँ। त्यस्तो संरचना निर्माण हुन सके यात्रुलाई थप सहज र सुरक्षित अनुभव हुनेछ।”
माडी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिरेन्द्र भण्डारीले भने, “यस्ता स्थलहरूको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकास गरिएमा बैकुण्ठ धाममा रहेको धनलक्ष्मी झरना माडी मात्र नभई सम्पूर्ण चितवन जिल्लाकै गौरवमय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।”
अध्यक्ष भण्डारी भन्नुहुन्छ,स्थानीय सरकार र प्रदेश सरकारको प्राथमिकता योजनामै यस क्षेत्रको प्रवर्द्धन, पहुँच विस्तार र सुविधासम्पन्न पूर्वाधार निर्माण कार्यलाई समेटिएको छ।

धार्मिक र सांस्कृतिक सम्पदाको समुचित संरक्षण तथा प्रवर्द्धनले माडीमा धार्मिक पर्यटनको नयाँ युग सुरु गर्नसक्ने देखिन्छ। यसले स्थानीय रोजगारी सिर्जना, सांस्कृतिक पहिचानको रक्षा, आन्तरिक पर्यटनको विकास, र आर्थिक समृद्धिमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ। माडीको समृद्धिको सम्भावना यही धार्मिक सम्पदाको संरक्षण र व्यवस्थापनमा पनि जोडिएको छ भन्ने स्पष्ट संकेत दिन्छ।–00–


