अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुरु गर्दै, सामाजिक सञ्जाल सार्वजनिक गर्नुपर्ने नयाँ शर्त

काठमाडौं, असार ५ – अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ। तर यसपटक केही नयाँ शर्तहरू थप गरिएका छन्। प्रमुखरूपमा, अमेरिका जान चाहने विद्यार्थीहरूले आफ्नो सामाजिक सञ्जाल (जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि) सार्वजनिक (पब्लिक) गर्नुपर्नेछ।

अमेरिकी सरकारका अनुसार, सामाजिक सञ्जालमार्फत उनीहरूको विचार, गतिविधि र मनोवृत्तिको मूल्यांकन गरिनेछ। यदि अमेरिकी मूल्य र सिद्धान्तविरुद्ध कुनै धारणा देखिएमा त्यसलाई भिसा अस्वीकृतिको आधार बनाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत मे महिनामा स्थगनमा राखिएको विद्यार्थी भिसा प्रक्रिया पुनः सुरु गर्ने निर्णय लिएको हो। यो निर्णयसँगै अब विद्यार्थीहरूले सम्बन्धित अमेरिकी दूतावासबाट अन्तरवार्ताका लागि समय लिन सक्नेछन्।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले भने, “अमेरिकी नागरिकहरूले अपेक्षा गरेका छन् कि उनीहरूको सरकारले देशलाई हरेक कोणबाट सुरक्षित बनाओस्, र ट्रम्प प्रशासन यही उद्देश्यमा प्रत्येक दिन कार्यरत छ।” विद्यार्थी भिसा ‘एफ–१’ लगायत अन्य सबै प्रकारका भिसामा नयाँ शर्त लागू हुनेछन्। अमेरिकाले सामाजिक सञ्जाल गोप्य राख्ने कार्यलाई गतिविधि लुकाउने प्रयासका रूपमा व्याख्या गर्ने नीति लिएको छ।

अन्तर्राष्ट्रिय शिक्षा विषयमा वार्षिक प्रतिवेदन प्रकाशित गर्ने संस्थान ‘ओपन डोअर्स’का अनुसार, सन् २०२३–२४ मा अमेरिकामा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन्। तीमध्ये साढे ३ लाखभन्दा बढी भारतबाट, २ लाख ८० हजारभन्दा बढी चीनबाट तथा झण्डै १७ हजार विद्यार्थी नेपालबाट अध्ययनरत छन्।–00–

Share:

सम्बन्धित समाचारहरु