काठमाडौं, ३० जेठ । भिजिट भिसा प्रकरणको कारण अवरुद्ध भएको संघीय संसद् पुनः सुचारु गराउने प्रयास अन्तिम चरणमा पुगेको छ। सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजिकिएसँगै आजदेखि सदन खुल्ने सम्भावना देखिएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गृहमन्त्रीमाथिको छानबिनको मागबाट पछि हटेसँगै संसद् सञ्चालनको बाटो खुलेको हो। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दलहरू सहमतिका नजिक रहेको जानकारी दिँदै भने, “हामी अहिले छलफलमा छौँ, सदन आजदेखि खुल्छ भन्ने तयारीमा छौँ।”
गृहमन्त्री रमेश लेखकमाथिको छानबिनको मागबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछि हटेपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै पनि आफ्नो अडानमा अडिग रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्ला संकेतपछि रास्वपा एक्लिने अवस्थामा पुगेको देखिन्छ। यद्यपि विपक्षी दलहरूबीच साझा धारणा बनाउने प्रयास जारी छ।
दलहरूबीच सहमति खोज्ने प्रयास जारी रहेकाले दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक सुरु हुन सकेको छैन।
हिजो कांग्रेस, एमाले र माओवादीबीच भएको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा सरकार पूर्ण सहयोग गर्ने र अध्यागमन विभागमा देखिएको समस्या समाधानका लागि संरचनात्मक सुधार गर्ने विषयमा सहमति जुटिसकेको छ।

