चितवन, २१ जेठ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले अपराध र गुण्डागर्दी नियन्त्रणमा कुनै पनि राजनीतिक दबाब वा प्रभाव नस्वीकारिने स्पष्ट पारेका छन्।
चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख पुरीले प्रहरी ऐन, नियम र कानुनले दिएको अधिकार प्रयोग गरेर जिल्लामा शान्ति सुरक्षाको वातावरण निर्माण गर्न प्रहरी सक्रिय रहेको जानकारी दिए।
उनले भने, ‘गुण्डागर्दी र अपराधमा संलग्न कोही पनि कुनै दलको नेता, कार्यकर्ता वा कसैको आफन्त हुन सक्दैन। अपराधी भनेको अपराधी नै हो।’
यस विषयमा चितवनका प्रमुख राजनीतिक दलहरूसँग पनि छलफल भइसकेको प्रहरी प्रमुख पुरीले बताए।
उनले स्वतन्त्र, निष्पक्ष र नियमअनुसार अपराध नियन्त्रण गर्ने नीति प्रहरीको रहेको जनाए।
प्रहरी प्रमुखको अनुसार, जिल्लामा गुण्डागर्दी नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, ट्राफिक नियमको कार्यान्वयन, फरार प्रतिवादी पक्राउ लगायतका कार्यहरूमा प्रहरीले सशक्त उपस्थिति देखाउँदै आएको छ।
पछिल्लो एक महिनाको अवधिमा चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २ सय ९४ लिटर घरेलु मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको विवरणअनुसार, यात्रुहरूको झोला तान्ने, जबरजस्ती गाडीमा चढाउने, मनपरी भाडा असुली गर्ने कार्यमा संलग्न ११६ जनालाई नियन्त्रणमा लिएर चेतावनी दिइएको छ।
प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, यस अवधिमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी सञ्चालन गर्ने ६६ वटा सवारी नियन्त्रणमा लिइए, जसबाट ७ लाख ६८ हजार रुपैयाँ राजस्व असुली गरिएको छ।
त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४४७ चालकलाई कारबाही गर्दै १७ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। एसपी पुरीले फरार रहेका २८ वर्ष ८ महिना ११ दिन कैद र १० लाख ३७ हजार ३ सय ४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी १३० जना प्रतिवादी पक्राउ गरी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको जानकारी दिए ।
प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘एक युनिट एक दिन’ कार्यक्रम सञ्चालन गरेको छ।
उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत सामग्री व्यवस्थापन, स्टप एण्ड सर्च योजना लगायतका विषयमा सरोकारवालासँग समन्वय गरी आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।


