काठमाडौं, २१ जेठ। भिजिट भिसा प्रकरणले राजनीतिक गर्मी बढाइरहेका बेला गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन्। उनले आफूले संसदमै जवाफ दिन पाउनुपर्ने माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिजिट भिसा प्रकरणबारे चर्को बहस भयो। विपक्षी सांसदहरूले सत्तापक्षबाटै पूर्वमा राजीनामा माग गरिएको स्मरण गराउँदै लेखकमाथि पनि उही मापदण्ड लागू गर्नुपर्ने बताएका थिए।
तर, गृहमन्त्री लेखकले भने राजीनामा होइन, संसदमा प्रत्यक्ष रुपमा बोल्न पाउनुपर्ने वातावरण बनाउन विपक्षी दलहरूसँग आग्रह गरे।
“यो समितिमा मात्रै बोलेर सबै सांसदको जिज्ञासा मेटिँदैन। त्यसैले म संसदमा जवाफ दिन चाहन्छु,” उनले भने, “उठेका सबै प्रश्नको जवाफ सदनमा दिन तयार छु, त्यसको वातावरण बनाइदिनुपर्छ।”
अनुसन्धानमै रहेका कर्मचारी, मन्त्री विवादमा-
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। सो प्रकरणमा गृहमन्त्री लेखक पनि मुछिएका भन्दै विपक्षी दलहरूले राजीनामाको मागसहित संसद अवरुद्ध गर्दै आएका छन्।
मन्त्री लेखकले समितिमा थपे,
“केही कर्मचारीहरूबारे अख्तियारले छानबिन गरिरहेको छ। तर यो विषय समितिमा मात्र होइन, सम्पूर्ण संसद सदस्यको चासो भएकाले म सदनमै जवाफ दिन चाहन्छु।”
आजको बैठकप्रति चासो –
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गृहमन्त्री लेखकले त्यस बैठकमा भिजिट भिसा प्रकरणसम्बन्धी सबै जिज्ञासाको जवाफ दिने तयारी गरेका छन्।


