नवलपरासी,२१ जेठ । पूर्वी नवलपरासीस्थित चोरमारा पुल मर्मत सम्पन्न भएको छ। आज साँझदेखि सो पुलमार्ग हुँदै यातायात सञ्चालनको तयारी गरिएको छ। केही समयअघि बढी तौल बोकेका मालवाहक गाडीका कारण पुल भासिएको थियो।
पुल निर्माण कम्पनी जलप नेपालका सञ्चालक तारा पौडेलका अनुसार मर्मत कार्य पूरा भइसकेको छ र आज साँझदेखि यातायात पुनः सञ्चालन गरिनेछ। पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार पुल मर्मतपछिको अवस्था निरीक्षण गर्न प्राविधिक र इन्जिनियरको टोली मंगलबार घटनास्थल पुगेको थियो।
२१६ मिटर लामो फलामे पुल करिब ५२ वर्षअघि महेन्द्रराजमार्ग निर्माणका क्रममा निर्माण गरिएको हो। पुल जीर्ण अवस्थामा रहेकाले अझै पनि जोखिम कायमै रहेको प्राविधिकहरूको भनाइ छ।
“जहाँबाट पुल भाँच्चिएको थियो, त्यो स्थानलाई मर्मत गरेर सोझो बनाइएको हो। तर पूरै पुलमा नयाँ फलाम फेरेको होइन,” ठेकेदार कम्पनीका प्रमुख पौडेलले भने, “अब यो पुल ‘फिट एन्ड फाइन’ छ भन्न सकिँदैन। बढी तौल भएका गाडी हिँडाउन हुँदैन।”
पुल महाशाखा प्रमुख खनालले पनि पुल सञ्चालनको जिम्मेवारी अब स्थानीय प्रशासनको भएको स्पष्ट पारे। उनले भने, “पुल पुनः भाँच्चियो भने त्यसको जिम्मेवारी पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीको रहनेछ।”
उनका अनुसार पुलमा गाडी चल्न दिने अन्तिम निर्णय पुल निरीक्षण प्रतिवेदनको आधारमा लिइएको हो। “निर्माणाधीन पक्की पुल नबन्दासम्म पुराना जीर्ण पुल प्रयोग गर्नु बाध्यता हो,” खनालले बताए।


