पोखरामा युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, थेबे र पुरीबीच प्रतिस्पर्धा

पोखरा, १३ जेठ। नेकपा एमाले निकट युवा संघ नेपालले नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु गरेको छ। निर्वाचन समितिका अनुसार मतदान कार्य सम्पन्न भएपछि आजै मतगणना हुनेछ।

पोखरा सभागृहमा शुक्रबारदेखि जारी महाधिवेशनमा नेतृत्व चयनको विषयमा सुरुमा सहमतिको प्रयास गरिएको थियो। पार्टी नेतृत्वले रुचाएको उम्मेदवारलाई सर्वसम्मत बनाउने रणनीतिअनुसार निर्वाचन प्रक्रिया केही समय रोकिएको थियो। तर सहमति जुट्न नसकेपछि अन्ततः मतदान प्रक्रिया अघि बढाइएको हो।

अध्यक्ष पदका लागि दुई जना उम्मेदवार—निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरी—बीच प्रतिस्पर्धा भइरहेको छ। दुबै उम्मेदवार आ–आफ्नो टिमसहित मैदानमा उत्रिएका छन्।

युवा संघका नेताहरूका अनुसार थेबेलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई एमालेभित्र प्रभावशाली मानिँदै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिकको समूहको साथ रहेको छ।

Share:

सम्बन्धित समाचारहरु