काठमाण्डौं,७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेका थिए र औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले ल्याउने आगामी बजेट कार्यान्वयनमा टेवा पुगोस् भनेर मौद्रिक नीति तर्जुमा गरिने बताए। “मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबै निकायसँग समन्वय गरेर अघि बढ्छु,” गभर्नर पौडेलले भने।
कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामाको सन्दर्भमा बोल्दै उनले उक्त विषय बैंकको आन्तरिक मामिला भएको प्रतिक्रिया दिए। पदभार ग्रहणलगत्तै गभर्नर पौडेलले पाँच सय र एक हजार रुपैयाँ दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन्।
सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकमार्फत डा. पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।


