हेटौंडा, ६ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गैरिगाउँमा जमिनमुनि भासिएर हराएको गाडीको केही पाटपुर्जा फेला परेको छ। गत वैशाख १९ गते सडक भासिँदा बेपत्ता भएको उक्त गाडीको खोजीका क्रममा आज केही भाग फेला परेको हो।
सडकसँगै गाडी समेत जमिनमुनि गाडिएपछि घटनाको प्रकृति जटिल देखिएपछि काठमाडौंबाट भूगर्भविदको टोली हेटौंडा पठाइएको थियो। टोलीले घटनास्थलको अवलोकन गरेर माटो परीक्षणका लागि नमुना काठमाडौं लगेको थियो।
माटो परीक्षणपछि भूगर्भविद टोलीले गाडी करिब १० मिटर गहिराइमा रहेको अनुमान गरेको थियो। सोही आधारमा खोज कार्यलाई अगाडि बढाउँदै जाँदा गाडीका केही पाटपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गाडी भासिएको क्षेत्र अझै पनि जोखिमपूर्ण मानिएको छ। खोज र सुरक्षाका लागि आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ। अन्य पाटपुर्जा तथा गाडीको अवस्था यकिन गर्न थप अनुसन्धान र सुरक्षात्मक उपाय अपनाइँदै जाने प्रहरीले जनाएको छ।–00–

