चितवन, ६ जेठ । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा जिल्लाका सातवटै पालिकाका प्रतिनिधिहरू, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सर्वसम्मत रूपमा चितवनलाई प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार सो सिफारिसलाई बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गराउने तयारी छ। उहाँले चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो निर्णय महत्वपूर्ण हुने बताउनुभयो।
बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गरेको तथ्यांकले देखाएको छ। चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, दुर्लभ वन्यजन्तु अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको उल्लेख्य उपस्थिति रहँदै आएको छ।
नेपाल सरकारको ‘१०० गन्तव्य’ अन्तर्गत बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने बागमती प्रदेश सरकारको ‘एक जिल्ला, एक उत्कृष्ट गन्तव्य’ अन्तर्गत मेघौली चितवनमै पर्छ। पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनमा प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटन गन्तव्यहरूको समुचित विकास, सहज यातायात पहुँच, पर्याप्त आवास सुविधा, पर्यटक सूचना केन्द्र तथा अन्य आवश्यक पूर्वाधारको उपस्थितिका कारण पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त भएको बताउनुभयो।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुंगानाले चितवनको पर्यटन मुख्यतः निकुञ्जमा आधारित भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। भरतपुर महानगरको आयोजनामा सञ्चालन भएको “भरतपुर भ्रमण वर्ष २०२४” जस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले चितवनको पर्यटनमा सकारात्मक आर्थिक प्रभाव पारेको उल्लेख गर्दै, जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारीले पर्यटकीय राजधानी घोषणाले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका कार्यबाहक अध्यक्ष अशोक अधिकारी, रत्ननगर नगरपालिका पर्यटन विज्ञ भेषराज दवाडी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पनि चितवनलाई पर्यटकीय राजधानी घोषण गर्ने विषयमा पूर्ण समर्थन जनाएका थिए।
पर्यटन विज्ञ सुवेदीका अनुसार चितवनको पर्यटन क्षेत्रमा हालसम्म ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ भने जिल्लामा १५ हजार बेड क्षमताका पर्यटकीय संरचना छन्। साथै, ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू चितवनमा रहेका छन्।



