भारत–पाक तनाव चुलियो : ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान उल मरसूस’

काठमाडौं,  २७ वैशाख । पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव थप चुलिएको छ। भारतले सो आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै ‘अपरेशन सिन्दूर’ नामक सैनिक कारबाही सुरु गरेको छ। भारतीय पक्षले यो अपरेशनको नाम ‘सिन्दूर पुछिएको’ प्रतीकका रूपमा राखिएको दाबी गरेको छ।

‘अपरेशन सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानका विभिन्न स्थानमा हवाई तथा भौगोलिक हमला गरेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। भारतीय पक्षका अनुसार यस आक्रमणबाट पाकिस्तानले ठूलो क्षति बेहोर्नु परेको छ। तर, पाकिस्तानले भने भारतका ५ वटा लडाकु विमान खसालेको दाबी गरेको छ।

यसको प्रतिउत्तरमा पाकिस्तानले ‘बुनयान उल मरसूस’ नामक सैन्य अभियान सुरु गरेको छ। पाकिस्तान सेनाको प्रवक्ता निकाय इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (ISPR) ले अपरेशनको औपचारिक घोषणा गरेको हो।

पाकिस्तानी सैन्य स्रोतका अनुसार यो अपरेशन अन्तर्गत भारतको उधमपुर एयरबेस र पठानकोट एयरफिल्डमा आक्रमण गरिएको छ, जसबाट ती दुबै स्थान ध्वस्त भएको दाबी छ। साथै, भारतको पञ्जाब राज्यस्थित ब्रम्होस मिसाइल भण्डारणस्थललाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ।

के हो ‘बुनयान उल मरसूस’ ?

पाकिस्तानले प्रयोग गरेको ‘बुनयान उल मरसूस’ इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको एक अंश हो। अलजजिराका अनुसार यसको अर्थ ‘संगठित र दृढतापूर्वक लड्ने संरचना’ भन्ने हुन्छ। अरबी भाषामा यसको शाब्दिक अर्थ ‘एक सिसाले बनेको बलियो संरचना’ हो, जुन एकता, दृढता र धार्मिक विश्वासको प्रतीक मानिन्छ।

यो घटनाक्रमसँगै दक्षिण एशियामा सुरक्षा तनाव तीव्र बन्दै गएको देखिन्छ। भारत र पाकिस्तानबीच सैन्य स्तरमा प्रत्यक्ष भिडन्तको अवस्था सिर्जना भएसँगै अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आग्रह गर्दै आएको छ।-00–

Share:

सम्बन्धित समाचारहरु