नेपालगन्ज,२६ वैशाख । भारत र पाकिस्तानबीच द्वन्द्व गहिरिँदै गएपछि नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ। विशेषगरी नेपालगन्जको जमुनाहा नाकामा सशस्त्र प्रहरीले आवतजावत गर्ने नागरिकको कडाइका साथ परिचयपत्र जाँच गर्न थालेको छ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालका अनुसार, अब नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकलाई अनिवार्य रूपमा परिचय खुल्ने कागजात देखाउनुपर्ने छ। परिचयपत्र नभएका व्यक्तिहरूलाई सोधपुछ गरेर मात्र सीमा पार गर्न दिइँदैछ।
यसअघि भारतीय पक्षले रुपैडिहा नाकामा नेपाली तथा भारतीय नागरिक दुवैका लागि परिचयपत्र अनिवार्य गरिसकेको थियो। अहिले नेपालले पनि जमुनाहा नाकामा त्यस्तै कडाइ थालेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले भारत–पाकिस्तानबीचको तनावपछि कुनै पनि गलत व्यक्ति नेपाल प्रवेश गर्न नपाओस् भन्ने उद्देश्यले यो कदम चालिएको जानकारी दिनुभयो। उहाँका अनुसार, अन्य खुला नाकाहरूमा पनि गस्ती तथा निगरानी थप गरिएको छ।
उता, भारतीय सुरक्षा निकाय एसएसबीले पनि हाल सीमा क्षेत्रमा विशेष तालिम प्राप्त सुरक्षाकर्मी तथा तालिम प्राप्त कुकुरमार्फत यात्रुहरूको गहन चेकजाँच थालेको छ। नेपाल–भारत सीमा क्षेत्रमा अहिले दुवै देशका सुरक्षाकर्मीले संयुक्त तथा एकल गस्ती बढाएका छन्। यस्तै, भारतबाट स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनहुँ बढ्दो रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।–00–


