भारत र पाकिस्तानको युद्धको बीचमा अमेरिका संलग्न हुँदैनः उपराष्ट्रपति जेडी भान्स

काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीचको तनावले युद्धको रूप लिँदै गर्दा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका उक्त द्वन्द्वमा संलग्न नहुने स्पष्ट पारेका छन्।

“हामीले गर्नसक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास हो, तर हामी युद्धमा जाने छैनौँ। त्यो हाम्रो काम होइन,” भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भनेका छन्।

उपराष्ट्रपति भान्सले कूटनीतिक प्रयासमार्फत तनाव अन्त्य गर्न अमेरिका सक्रिय रहने बताउँदै, क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वतर्फ स्थिति नबढोस् भन्ने आशा व्यक्त गरे। उनका अनुसार, “हामी आशा गर्छौं, यो तनाव कूटनीतिक ढंगले नियन्त्रणमा आउँछ।”

पहलगाम आक्रमणबारे उल्लेख-

उक्त अन्तर्वार्तामा उनले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणबारे पनि बोले। आक्रमणको समयमा उनी भारत भ्रमणमा थिए र आफ्नी श्रीमती र बच्चाहरू पनि साथमा थिए। उनले भने, “त्यो एक डर लाग्दो क्षण थियो, तर हामी सुरक्षित थियौँ।”

भान्सको भनाइले अमेरिकी नीति स्पष्ट पार्छ – भारत–पाकिस्तानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नहुनु, तर शान्तिपूर्ण समाधानको लागि कूटनीतिक समर्थन जारी राख्नु।–00–

Share:

सम्बन्धित समाचारहरु