काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थप हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बिहीबार (आज) अदालतमा पेश गरिएपछि अनुसन्धानका लागि थप म्याद प्रदान गरिएको हो।
तीनकुने घटनासँग सम्बन्धित विषयमा मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको आरोपमा अनुसन्धान भइरहेको थियो। अब भने उनलाई आपराधिक उपद्रवको कसुरमा समेत मुद्दा चलाइएको छ। साथै, उक्त मुद्दामा अनुसन्धान भइरहेको अन्य अभियुक्तहरूलाई भने सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
नयाँ मुद्दा थपिएकोप्रति मिश्रले गम्भीर आपत्ति जनाउँदै त्यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदमको संज्ञा दिएका छन्।–00–

