काठमाडौं , २३ वैशाख । गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार प्रतिनिधि सभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा जवाफ दिने भएका छन्।
रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले विरोध जनाएपछि, सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई वैशाख २५ गतेको बैठकमा जवाफ दिन निर्देशन दिएका हुन्।
यसअघि, दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या उत्पन्न भएको थियो। सभामुख घिमिरेले उक्त घटनामा सरकारको ध्यानाकर्षण गराएका थिए। तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले जवाफ नआउन्जेल विरोध जारी राखेका थिए। यसपछि गृहमन्त्रीले संसद सचिवालयका सदस्यलाई मौखिक रूपमा जवाफ दिने जानकारी दिएका थिए।
गृहमन्त्रीको जवाफ आउने भएपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बैठकमा सहभागी भएका थिए।–00–


