काठमाडौं , २३ वैशाख । जापानको अध्यागमन कार्यालयले दुई नेपाली नागरिकलाई कानुनी उल्लंघनको आरोपमा निष्काशन गरेको छ । पन्त र थापा थरका यी दुई नेपालीलाई यसै साता नेपाल फर्काइएको हो ।
स्रोतका अनुसार, पन्तलाई थाइ एयरलायन्स र थापालाई थाइ लायन एयरलायन्समार्फत नेपाल पठाइएको छ । जापान प्रहरीले उनीहरूलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरी सोधपुछपछि नेपाल डिपोर्ट गरेको छ । यद्यपि, उनीहरूले कुन-कुन कानुन उल्लंघन गरेका छन् भन्ने विषय खुलेको छैन।
पछिल्लो समय जापानले अवैधरूपमा बसेका आप्रवासीहरूसँग कडा कदम चाल्न थालेको छ, जसका कारण नेपाली आप्रवासी पनि प्रभावित भएका छन् । विशेषगरी, विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गरिएको बताइएको छ । साथै, जापानसँगै अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, जर्मनी र दक्षिण कोरियालगायत देशका सरकारहरूले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाएको देखिन्छ ।–00–


