शिक्षक आन्दोलनपछि विद्यालय खुले, विद्यार्थी भर्नासुरु अभियान 

वैशाख १९, काठमाडौं – एक महिनासम्मको शिक्षक आन्दोलन अन्त्य भएपछि आजदेखि देशभरका विद्यालय खुलेका छन्। बुधबार सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति पश्चात् बिहीबारको सार्वजनिक बिदापछि शुक्रबारबाट विद्यालय सञ्चालनमा आएका हुन्।

काठमाडौंका विभिन्न सरकारी विद्यालयमा नयाँ विद्यार्थी भर्ना हुने क्रम सुरु भएको छ। पद्मकन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीका अनुसार, आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्। उनले “बुक फ्रि–फ्राइडे” मा विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सहभागी भएको बताइन्।

जनविकास र ज्ञानोदय माध्यमिक विद्यालयमा पनि विद्यार्थी भर्ना सुरु भएको छ। अघिल्लो वर्षको तुलनामा आन्दोलनका कारण यो वर्ष भर्ना केही ढिलो भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

यद्यपि शिक्षक महासंघ आन्दोलन स्थगन गरेर काठमाडौं फर्किए पनि विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको सहमति अस्वीकार गर्दै नयाँ आन्दोलनको घोषणा गरेको छ। परिषद्ले वैशाख २१ देखि जेठ १० गतेसम्म विभिन्न चरणमा ध्यानाकर्षण कार्यक्रम र माइतीघर मण्डलामा सडक आन्दोलनको तयारी गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु