आन्दोलनरत्त शिक्षकसँग वार्ता जारी, आजै सहमतिहुने सम्भावना

काठमाण्डौं, १६ बैशाख। २८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ।

सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन्। वार्ता आज दिउँसो पनि हुँदैछ। शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताएका छन्। उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ।

अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ। महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना रहेको बताएका छन्। ‘आशावादी छौं। हामी छलफलमै छौं। आज केही होला,’ बैठकस्थलबाट थापाले नेपाल प्रेससँग भने।

आजै गठबन्धनका मुख्य दल कांग्रेस–एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको जनाइएको छ। तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि क्याबिनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन्।

राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केहीमा अझै छलफल आवश्यक रहेको बताएका थिए। आन्दोलन भने जारी नै रहने उनको भनाइ छ।–00–

Share:

सम्बन्धित समाचारहरु